काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको करिब २० किलोमिटर सडकखण्ड चौडा गरिने भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सडकको मुख्य कालोपत्रे भागलाई १० मिटर चौडा बनाउने योजना अघि बढाइएको हो ।
हाल उक्त सडकखण्डमा मुख्य कालोपत्रे भागको चौडाइ औसत ५ दशमलव ५ मिटर मात्रै रहेको छ। सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ ।
डिपिआरअनुसार सडक विस्तारका लागि ३ अर्ब ७९ करोड ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सडक कालोपत्रे गर्न प्रतिकिलोमिटर १८ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताए । विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ ।
यसैबीच, २०८१ असोजमा आएको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आए पनि अहिले क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको छ ।
क्षतिग्रस्त राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीतर्फको एक सडकखण्डका लागि करिब १ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण सुरु गरिएको थियो । निर्माण सम्पन्न भएपछि २०७२ असार १८ गते जापान सरकारले राजमार्ग नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया