काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार जारी गरेको सूचनाअनुसार पहाडी तथा हिमाली जिल्लाका सडकमा यातायात प्रभावित भएको हो ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइनेछ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा सडक हिलाम्मे भएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारीको ईकुमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेको तथा सोही वडाको लिपीङमा सडक भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवाको पासाङ ल्हामु सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक अवरुद्ध भएको छ । त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।
रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडकखण्डले जाजरकोट र डोल्पालाई जोड्छ ।
त्यस्तै, सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेकडाँडामा करिब १० मिटर सडक भासिएपछि कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा सडक माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको छ । म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुक्सेमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण पहाडी तथा हिमाली जिल्लाका सडकमा पहिरो, सडक भासिने र नदी कटानको जोखिम बढेको भन्दै प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । साथै, जोखिमयुक्त सडकखण्डमा आवश्यक सावधानी अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया