काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ३८.०१ प्रतिशतले वृद्धि गर्दै ३ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको ब्याज आम्दानी तथा शुल्क तथा कमिसन आम्दानीमा भएको सुधारले नाफा बढाउन योगदान गरेको देखिन्छ । गत आर्थिक वर्षमा बैंकले ६ अर्ब ९९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ६ अर्ब ३५ करोड रुपैयाँ थियो ।
त्यस्तै, बैंकले खुद शुल्क तथा कमिसनबाट १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ। बैंकको सञ्चालन नाफा पनि बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । वितरणयोग्य नाफाका आधारमा बैंकको लाभांश क्षमता २०.८५ प्रतिशत रहेको देखिन्छ ।
सानिमा बैंकको निक्षेप तथा कर्जा कारोबारमा समेत विस्तार भएको छ । बैंकको कुल निक्षेप अघिल्लो आर्थिक वर्षको २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कुल कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा अनुपात भने घटेको छ । अघिल्लो अवस्थाको तुलनामा सुधार हुँदै खराब कर्जा अनुपात २.८७ प्रतिशतमा झरेको बैंकले जनाएको छ। खराब कर्जामा आएको कमीले बैंकको कर्जा असुली तथा ऋण व्यवस्थापनमा सुधार भएको संकेत गर्छ ।
निक्षेप तथा कर्जा दुवैमा विस्तार हुनुका साथै ब्याज र गैरब्याज आम्दानीमा सुधार आएपछि गत आर्थिक वर्षमा सानिमा बैंकको समग्र वित्तीय प्रदर्शन बलियो बनेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया