लक्ष्मी सनराइज बैंकले कमायो ३ अर्ब बढी नाफा, अधिकांश सुचक सकारात्मक

लोकपथ
35
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–०८३ को अन्त्यसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । तर यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ दशमलव २६ प्रतिशतले कम हो, अघिल्लो आवको यही अवधिमा बैंकले ४ अर्ब ६ करोड २० लाख रुपैयाँ रहेको थियो ।

नाफामा गिरावट आए पनि बैंकको मुख्य आम्दानीका स्रोतमा भने सुधार देखिएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७९ प्रतिशतले बढेर ११ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कमिसन तथा शुल्कबाट प्राप्त आम्दानी १२.३८ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

ब्याज तथा गैरब्याज आम्दानीमा भएको वृद्धिले बैंकको व्यवसायिक गतिविधि र आम्दानीको आधार विस्तार हुँदै गएको देखाएको छ । चुनौतीपूर्ण वित्तीय वातावरणका बीच पनि बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कायम गर्न सफल भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ११.६४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७.०२ रुपैयाँ कायम भएको छ । बैंकको इक्विटीमा प्रतिफल (आरओई) ६.७२ प्रतिशत र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १८.४८ गुणा रहेको छ ।

वित्तीय सूचकतर्फ बैंकको पूँजीकोष अनुपात १२.०३ प्रतिशत, तरलता अनुपात ३०.३२ प्रतिशत र कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४.७७ प्रतिशत रहेको छ । यस्तै, बैंकको कस्ट अफ फण्ड ३.२८ प्रतिशत, बेस रेट ५।०५ प्रतिशत र स्प्रेड दर ३.२२ प्रतिशत कायम भएको छ ।

यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) अनुपात भने बढेर ५.२३ प्रतिशत पुगेको छ । बैंकको चुक्तापूँजी २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकले रिटेन्ड अर्निङमा १ अर्ब ९६ करोड रुपैयाँ तथा विभिन्न रिजर्भमा १९ अर्ब २५ करोड रुपैयाँ सञ्चित गरेको छ ।

बैंकले समीक्षा अवधिमा १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । यसअनुसार बैंकको लाभांश वितरण क्षमता ६.७९ प्रतिशत रहेको देखिन्छ ।

समग्रमा, नाफामा कमी आए पनि खुद ब्याज आम्दानी र कमिसन तथा शुल्क आम्दानीमा भएको वृद्धिले बैंकको सञ्चालन आम्दानीतर्फ सकारात्मक संकेत देखाएको छ । आगामी अवधिमा खराब कर्जा व्यवस्थापन र आम्दानीको वृद्धिलाई नाफामा रूपान्तरण गर्न सक्ने क्षमता बैंकका लागि महत्वपूर्ण रहने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?