रुग्ण उद्योगदेखि आईटीसम्म लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह

लोकपथ
28
Shares

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् ।

चीनको ग्वाङझाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै अर्थमन्त्री वाग्लेले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापनका क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

सरकारले लगानीको वातावरण निर्माण गर्नुका साथै देशभित्र रोजगारी सिर्जना र एआई तथा सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गरिरहेको उनले बताए । ‘प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्,उनले भने ।

सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको दाबी गर्दै अर्थमन्त्री वाग्लेले बजेटमार्फत २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण निर्माणको प्रयास भइरहेको बताए । सम्मानजनक रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरिएको उल्लेख गर्दै उनले पहिलो वर्ष सुधारको सुरुआत गरिएको र आगामी वर्षहरूमा त्यसलाई थप विस्तार गर्दै लैजाने बताए । उनका अनुसार तेस्रो र चौथो वर्षमा सुधारको नतिजा देखिन थाल्नेछ भने चौथो र पाँचौँ वर्षमा त्यसको प्रतिफल जनताले पाउनेछन् ।

अर्थमन्त्री वाग्लेले आर्थिक लक्ष्य हासिल गर्न आन्तरिक स्रोत महत्वपूर्ण रहेको बताए । बाह्य लगानीको स्रोत चुनौतीपूर्ण अवस्थामा रहेकाले अहिले प्रवासी नेपालीको ज्ञान, सीप र पुँजी सरकारका लागि महत्वपूर्ण भएको उनको भनाइ छ ।

प्रवासी नेपालीको पुँजी र लगानी परिचालनको विषय पार्टीको घोषणापत्रमा समेत समेटिएको र सरकारले त्यसका लागि विशेष पहल गरिरहेको उनले बताए ।

रुग्ण उद्योगलाई पुनर्जीवन दिने सरकारको योजना रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले पुनर्ताजगीपछि ती उद्योग सञ्चालनका लागि राम्रो सीप र ज्ञान भएका व्यक्तिलाई सहभागी गराउने बताए । यसमा प्रवासी नेपालीले समेत ज्ञान, सीप र लगानीमार्फत योगदान गर्न सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?