पाँच स्थानबाट ग्यास बाँड्दै निगम, लामबद्ध नागरिक भन्छन्- ‘दिनभर कुर्दा पनि ग्यास पाएनौँ’ [तस्बिरहरु]

लोकपथ
21
Shares

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री–वितरण सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा निगमले शनिबारदेखि विभिन्न ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो ।

निगमका अनुसार टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास वितरण भइरहेको छ । बिक्री केन्द्रअनुसार फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराइएको निगमले जनाएको छ ।

ग्यास लिन बिहानैदेखि वितरण केन्द्रहरूमा उपभोक्ताको ठूलो भीड लागेको छ । नेपाल आयल निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल वितरण केन्द्रमा मात्रै एक हजारभन्दा बढी उपभोक्ता ग्यास लिन पुगेका छन् ।

निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने योजना बनाएको छ। बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त केन्द्रमा करिब १० प्रकारका ग्यास सिलिण्डर उपलब्ध रहेको पौडेलले जानकारी दिए ।

यद्यपि, वितरण केन्द्रमा ग्यास लिन पुगेका उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। बबरमहलमा लामो समयसम्म लाइनमा बसेर पालो आए पनि वितरणस्थलमै ग्यास उपलब्ध नभएपछि घण्टौँ कुरेर बस्नुपरेको उनीहरूको भनाइ छ । ग्यास आउने आशामा दिनभर लाइनमा बस्न बाध्य भएको उपभोक्ताले बताएका छन् ।

निगमले ग्यासको अभावलाई सहज बनाउन डिपोहरूसँगको समन्वयमा वितरणलाई सहजीकरण गरिरहेको जनाएको छ । साथै, ग्यासको कालोबजारी तथा अनावश्यक भण्डारणविरुद्ध अनुगमन तीव्र पारिएको निगमले जनाएको छ ।

ग्यास लुकाउने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा कालोबजारी गर्नेहरूलाई कानुनी दायरामा ल्याउने गरी अनुगमन भइरहेको पौडेलले बताए ।

निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएका वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ । ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?