थानाभञ्ज्याङमा बस-भ्यान दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३ घाइते

लोकपथ
252
Shares

काटमाठौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

शनिबार बिहान करिब पौने ९ बजे टोखा–छहरे सडकखण्डमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाडौंको दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ००५२ नम्बरको बस चालक र यात्रुहरू खाजा खान गएका बेला आफैं गुडेको थियो ।

बसले सडकछेउमा रोकिराखेको बा.प्र. ०३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो । त्यसपछि दुवै सवारीसाधन सडकबाट करिब ३०–४० मिटर तल खसेका थिए ।

दुर्घटनामा काभ्रेपलाञ्चोकको बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछाप ठाडादेवी–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, बनेपा–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखा मेलुङ–६ घर भई काठमाडौं काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन् । उनीहरूको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

दुर्घटनाका बेला बस रोकिएको र यात्रुहरू खाजा खान गएकाले बसमा कति जना यात्रु थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीका अनुसार बस चालक काभ्रेको पाँचखाल–७ का ४५ वर्षीय सिताराम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?