काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सुशासन कायम गर्न सरकारी सेवाहरू ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले सरकारी सेवा पूर्ण रूपमा डिजिटल र सेवाग्राहीको प्रत्यक्ष सम्पर्कविहीन बनाउन सके सेवा प्रवाह प्रभावकारी हुनुका साथै सुशासन कायम गर्न सहयोग पुग्ने बताए ।
उनले उद्योग विभागका सेवाहरू डिजिटल प्रणालीमार्फत सञ्चालन हुने व्यवस्था सुरु हुनु सकारात्मक भएको उल्लेख गर्दै यसले सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सेवाग्राहीको समय बचत गर्ने बताए ।
विगतमा पनि उद्योग विभागले डिजिटल प्रणालीमार्फत सेवा दिने भनिए पनि सेवाग्राहीले फाइल बोकेर सरकारी कार्यालय धाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै पाण्डेले आगामी दिनमा त्यस्तो अवस्था दोहोरिन नदिन विभाग गम्भीर हुनुपर्ने बताए ।
अध्यक्ष पाण्डेले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरी सरकारी निकायका प्रणालीहरूलाई आपसमा अन्तरसम्बन्धित बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार एउटै विवरण पटक–पटक प्रविष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारी प्रणालीहरूलाई अन्तरआबद्ध गर्न सके सेवा प्रवाह थप सहज र प्रभावकारी बन्नेछ ।
‘गुड गभर्नेन्सको बेसिक फन्डामेन्टल भनेको कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस इनिसिएटिभ हुनुपर्छ,’ उनले भने, ‘डिजिटल प्रणालीमा गए पनि फेरि प्रिन्ट गरेर फाइल लिएर जानुपर्ने अवस्था भयो भने त्यसले अपेक्षित प्रभाव दिँदैन ।’
उनले डिजिटल सार्वजनिक पूर्वाधारमार्फत सरकारी प्रणालीहरूलाई क्रमशः अन्तरसम्बन्धित बनाउन सके व्यवसाय सञ्चालनको लागत घट्नुका साथै सरकारी सेवाको दक्षता बढ्ने बताए ।
डिजिटल प्रणालीले स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्नसमेत सहयोग पुग्ने उनको विश्वास छ । डिजिटल सेवा प्रवाहले लगानीकर्ताका लागि प्रक्रिया सहज बनाउने र नेपालमा लगानी तथा व्यवसाय गर्ने वातावरण सुधार गर्न योगदान पुर्याउने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया