बाढी-पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध : कुन-कुन सडक खुले, कुन बन्द छन् ?

लोकपथ
35
Shares

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका धेरै सडकमा यातायात प्रभावित भएको छ ।

बागमती प्रदेशमा सबैभन्दा धेरै सडक अवरुद्ध भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका चारकिलो, कोदारी र लिपिङमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

धादिङको थाक्रे गाउँपालिका–६, आठकिल्लामा पहिरो जाँदा पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया–५, खाल्टेमा बाढी आएपछि त्रिशूली–मैजुङ–स्याफ्रुबेसी सडक पनि लामो समयदेखि बन्द छ । यो सडक तत्काल खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।

बिपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा सम्भावित बाढीका कारण राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ । कान्ति लोकपथमा पनि राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ ।

कोशी प्रदेशमा मेची राजमार्गको इलाम नगरपालिका–९, राजदुवाली खण्ड पूर्ण रूपमा बन्द छ । झापा–ताप्लेजुङ जोड्ने यो सडक साउन २३ गतेदेखि बन्द भए पनि वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

भोजपुरको मध्यपहाडी लोकमार्गमा पनि बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। त्यहाँ वैकल्पिक बाटोको व्यवस्था गरिएको छ ।

लगातार वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालयमा जानकारी लिन वा आधिकारिक सूचना हेर्न प्रहरीले यात्रुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?