मुख्य राजमार्गमा बाढी-पहिरोको जोखिम, कहाँ रोकियो सवारी ?

लोकपथ
7
Shares
फाइल तस्बिर

काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँका मुख्य सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा बन्द रहेको र केहीमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको जनाएको छ ।

कोशी प्रदेशमा भोजपुरको बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ । इलामको राजदुवालीमा भने लगातारको वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

बागमती प्रदेशमा पनि सडकमा जोखिम बढेको छ । काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी चलाउन रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ । सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । रसुवाको खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पनि पूर्ण रूपमा बन्द छ ।

गण्डकी प्रदेशका बागलुङ र लमजुङमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । बागलुङको सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै समय लाग्ने प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेशको रुकुम पूर्वमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिममा बाढी आएपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पनि पूर्ण रूपमा बन्द भएको छ ।

प्रहरीका अनुसार अवरुद्ध सडकमा पहिरो हटाउने र यातायात सञ्चालनमा ल्याउने काम भइरहेको छ । यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?