काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा उजुरी परेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका अधिकारीहरूले बताएका छन् ।
श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख गरेका छन् । प्रहरीले पक्राउपछि घटनाबारे थप अनुसन्धान अघि बढाउने जनाएको छ ।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सम्पादकरसञ्चालक हुन् । उनी यसअघि प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षसमेत भइसकेका छन् ।
पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाप्रति सञ्चार क्षेत्रबाट भने चासो व्यक्त हुन थालेको छ । समाचार प्रकाशनसँग सम्बन्धित विषयमा पत्रकारलाई पक्राउ गरिएको भन्दै पत्रकारिता तथा प्रेस स्वतन्त्रताको कोणबाट पनि घटनालाई हेरिनुपर्ने आवाज उठिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया