बाढी-पहिरोले देशभरका मुख्य सडक प्रभावित, केही राजमार्गमा रातिको समयमा सवारी रोक

लोकपथ
21
Shares

काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित भएका छन् । बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशका दर्जनभन्दा बढी सडक खण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् ।

बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बागमती प्रदेशका दुई प्रमुख सडकमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोकको बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन चलाउन रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइनेछ ।

त्यस्तै, मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर जोड्ने कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। अर्को सूचना नभएसम्म यो व्यवस्था लागू हुनेछ ।

सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । भोटेकोशी गाउँपालिकाको चारकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो खसेपछि तातोपानी जाने सडक बन्द भएको हो ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने बताइएको छ ।

कोशी प्रदेशमा पनि सडकहरू प्रभावित भएका छन् । इलाम नगरपालिका–९ राजदुवालीमा पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । उक्त सडकका लागि वैकल्पिक बाटो भने प्रयोग गर्न सकिनेछ ।

भोजपुरको बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित भएको छ । यहाँ वैकल्पिक बाटो भए पनि हाल एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ ।

गण्डकी प्रदेशमा बागलुङ र लमजुङका सडक पनि पहिरोका कारण प्रभावित छन् । बागलुङको बेलबगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर एकतर्फी सञ्चालन भइरहेको छ । लमजुङको बिमिरेभञ्ज्याङमा पनि मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा छ ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा बन्द भएको छ ।

बाढी र पहिरोका कारण सडक बन्द हुँदा यात्रुहरू समस्यामा परेका छन् । सडक खुलाउन सम्बन्धित निकायहरूले काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?