विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र छ : अञ्जन श्रेष्ठ

लोकपथ
14
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उच्च भन्सार र करका कारण नेपालको अटोमोबाइल क्षेत्र प्रतिस्पर्धी बन्न नसकेको बताएका छन् ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले सरकारले अटोमोबाइललाई विलासिताको वस्तुका रूपमा हेर्ने नीति परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उनले अटोमोबाइल क्षेत्रलाई सवारीसाधनको आयात र बिक्रीसँग मात्र जोडेर हेर्न नहुने बताए । यो क्षेत्र सडक, यातायात, ऊर्जा, रोजगारी र समग्र आर्थिक गतिविधिसँग जोडिएको उनको भनाइ छ ।

श्रेष्ठले नेपालमा अटोमोबाइलमा लाग्ने भन्सार तथा कर विश्वकै उच्चमध्ये रहेको बताए । उच्च कर, नीतिगत जटिलता र पर्याप्त पूर्वाधारको अभावले यस क्षेत्रमा लगानी र विस्तारमा समस्या भइरहेको उनले बताए ।

उनले अटोमोबाइल क्षेत्रको विकासका लागि दीर्घकालीन र स्थिर कर नीति आवश्यक रहेको बताए । पटक–पटक नीति परिवर्तन हुँदा व्यवसायी र लगानीकर्तामा अन्योल सिर्जना हुने भएकाले सरकारले स्पष्ट र पूर्वानुमानयोग्य नीति बनाउनुपर्ने उनको भनाइ छ ।

विशेषगरी विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको अवस्थामा कर, भन्सार र सवारी वर्गीकरणसम्बन्धी नीति नयाँ प्रविधिअनुकूल बनाउनुपर्ने श्रेष्ठले बताए ।

उनले पछिल्लो दुई दशकमा नेपालमा सवारीसाधनको संख्या बढे पनि सडक, पार्किङ, सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापनको पूर्वाधार सोही अनुपातमा विस्तार हुन नसकेको बताए। काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गए पनि यातायात व्यवस्थापनको क्षमता पर्याप्त नभएको उनले उल्लेख गरे ।

सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि जनशक्ति तथा प्रविधिमा लगानी बढाउनुपर्ने श्रेष्ठको भनाइ छ । अटोमोबाइल क्षेत्रलाई राजस्व संकलनको माध्यमका रूपमा मात्र नहेर्न पनि उनले सरकारलाई आग्रह गरे ।

यस क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा लिएर लगानीमैत्री वातावरण बनाउन सके रोजगारी, राजस्व, ऊर्जा रूपान्तरण र आर्थिक गतिविधि बढाउन सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?