चितवनमा ग्यास अभावको कारण खोज्दै प्रशासन, उद्योगदेखि डिपोसम्म अनुगमन

लोकपथ
7
Shares
ग्यासको सांकेतिक तस्बिर

चितवन । चितवनमा ग्यासको अभाव भएपछि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्दै ८०२ घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्‍याएको छ ।

असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई लक्षित गरी प्रशासनले ग्यास घरमै पुर्‍याउने व्यवस्था मिलाएको हो । गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यास अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई प्राथमिकताका आधारमा सेवा दिइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

भरतपुर, पूर्वी चितवन र पश्चिम चितवन क्षेत्रमा ग्यास सिलिण्डर वितरण गरिएको छ । ग्यास अभाव भएका आश्रमहरूमा समेत आश्रममै सिलिण्डर पुर्‍याइएको प्रशासनले जनाएको छ ।

उद्योगबाट पर्याप्त ग्यास आउने गरेको भनिए पनि डिपो हुँदै उपभोक्तासम्म सहज रूपमा नपुगेको गुनासो बढेपछि प्रशासनले उद्योगदेखि खुद्रा व्यापारीसम्म अनुगमन सुरु गरेको छ । उद्योगीहरूले पर्याप्त ग्यास आयात भइरहेको दाबी गरे पनि उपभोक्ताले ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने अवस्था देखिएपछि वितरण प्रणालीको अनुगमन थालिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोलीले बजार अनुगमन गरिरहेको छ । प्रजिअ अर्यालका अनुसार चितवनमा मासिक करिब एक लाख २० हजार सिलिण्डर ग्यास आवश्यक पर्छ । तर अहिले दैनिक ६ देखि ७ हजार सिलिण्डर मात्रै वितरण भइरहेकाले अभाव देखिएको हो ।

चितवनमा हाल साईबाबा, बाबा र नेपाल ग्यास उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट जिल्लाका डिलरहरूमा नियमित रूपमा ग्यास पठाउने गरिएको छ ।

बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार चितवनका उद्योगहरूले चितवनसहित विभिन्न जिल्लामा ग्यास पठाउँदै आएका छन् । भरिएका सिलिण्डरमध्ये करिब आधा चितवन र आधा अन्य जिल्लामा पठाउने गरिएको उनले बताए ।

भारतको दुर्गापुरस्थित रिफाइनरीमा समस्या आएपछि अहिले पारादीपबाट ग्यास भर्ने गरिएको छ । दुर्गापुर पुग्न दुई दिन लाग्ने भए पनि पारादीप पुग्न चार दिन लाग्ने भएकाले आपूर्ति प्रभावित भएको कालाखेतीले बताए ।

त्यस्तै, ग्यास उपलब्ध गराउँदै आएको बरौनी रिफाइनरीले समेत कम परिमाणमा ग्यास दिइरहेको र माग बढेका कारण समस्या भएको उनको भनाइ छ ।

कालाखेतीले केही समयका लागि आधा सिलिण्डर भर्ने व्यवस्था गर्न वा बरौनीबाट दिइने कोटा केही दिन बढाउन सके ग्यास अभावको समस्या समाधान गर्न सकिने बताए । उपभोक्ताले आवश्यकताअनुसार मात्रै सिलिण्डर साट्ने र अनावश्यक रूपमा ग्यास भण्डारण नगर्ने हो भने समस्या छिट्टै समाधान हुने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?