लगातारको वर्षाले कहाँ-कहाँ सडक अवरुद्ध भयो ? [विवरणसहित]

लोकपथ
63
Shares

काठमाडौं । लगातार भइरहेको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्ड बन्द भएका छन् ।

बागमती प्रदेशमा वीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ । वीपी राजमार्गको काभ्रे खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथको मकवानपुर खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लिपिङ, कोदारी र चारकिलोमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ । रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पनि बाढीका कारण बन्द रहेको छ ।

कोशी प्रदेशको इलाममा रहेको मेची राजमार्ग पनि लगातारको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । भोजपुरको मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।

गण्डकी प्रदेशको लमजुङमा मध्यपहाडी लोकमार्ग पहिरोका कारण बन्द भएको छ । बागलुङको कालीगण्डकी करिडोर भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर र सुदूरपश्चिमको बाजुरामा कर्णाली करिडोरअन्तर्गत कालीकोट–हुम्ला सडकखण्ड बाढी र पहिरोका कारण पूर्ण रूपमा बन्द छन् ।

प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र बाढी तथा पहिरोको जोखिम भएका ठाउँमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?