राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एक ठाउँमा आउनुपर्छ : शंकर पोखरेल

लोकपथ
7
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियता र विकासका सवालमा लोकतन्त्रवादी तथा संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नं.६ अन्तर्गत तारकेश्वर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले जनताको विश्वास जित्ने गरी जनप्रिय बन्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले पार्टीले जनतासँगको सम्बन्ध सुधार गर्न जागरण अभियान सञ्चालन गरिरहेको र त्यसका लागि जनसंगठनहरूलाई परिचालन गरिएको बताए ।

महासचिव पोखरेलले एमालेले जनताको बहुदलीय जनवादका आधारमा आफ्ना नीतिप्रति जनताको विश्वास जित्नुपर्ने बताए । साथै, जनताको चाहना र आवश्यकताअनुसार पार्टीका नीति तथा कार्यक्रमलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

उनले परम्परागत कम्युनिष्ट आन्दोलनको विचारधाराबाट मात्रै अब अघि बढ्न नसकिने बताए । माक्र्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न नयाँ पुस्तालाई पार्टीसँग जोडेर अघि बढ्नुपर्ने उनले बताए ।

पोखरेलले विगतमा एमालेले सरकार सञ्चालन गर्दा आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिएको दाबी गर्दै युवालाई देशभित्र पर्याप्त रोजगारी दिन नसक्दा असन्तोष बढेको विषयलाई आत्मसात् गर्नुपर्ने बताए ।

उनका अनुसार बदलिँदो परिस्थितिअनुसार पार्टीले आफ्ना नीति, संगठन र कार्यशैलीमा सुधार गर्दै जनतासँगको सम्बन्ध थप मजबुत बनाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?