बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै ३७ हजार ५२० पर्यटक ढोरपाटन पुगेका छन् ।
ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार पर्यटकको यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १३ हजारले बढी हो । कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आव २०८१/८२ मा २३ हजार ६९२ र आव २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेका थिए ।
गत आर्थिक वर्ष ढोरपाटन पुगेका पर्यटकमध्ये ३७ हजार २७० जना नेपाली रहेका छन् । बाँकी २५० जना विदेशी पर्यटक रहेको कार्यालयले जनाएको छ ।
ढोरपाटन क्षेत्रको प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास, व्यवस्थित होटल तथा होमस्टेको विस्तारसँगै बुकीपाटन, बुकीफूल र जलजलाको चर्चाका कारण पर्यटकको आगमन बढेको रेञ्जर सुवेदीले बताए ।
पर्यटकको सङ्ख्या बढेसँगै आरक्षको राजस्वसमेत वृद्धि भएको छ । आव २०८२/८३ मा पर्यटक प्रवेश शुल्कबाट ४७ लाख ६८ हजार ४०५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा प्रवेश शुल्कबाट ३१ लाख २१ हजार ५०० रुपैयाँ सङ्कलन भएको थियो ।
यस्तै, आरक्षले ढुङ्गा, गिट्टी र बालुवाबाट आव २०८२/८३ मा एक करोड एक लाख २७ हजार ९५३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ लाख ४१ हजार रुपैयाँ बढी हो ।
आरक्ष कार्यालयका अनुसार पर्यटक सूचना प्रणालीको विकास, पर्यटन पदमार्गको रुट कायम तथा अन्य पूर्वाधार विस्तारले ढोरपाटनको प्रचारप्रसारमा सहयोग पुगेको छ । पछिल्लो समय सिकार खेल्न आउने विदेशी पर्यटकसँगै ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन र जलजला अवलोकनका लागि आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
समुद्री सतहबाट दुई हजार ९०० मिटर उचाइमा रहेको ढोरपाटन उपत्यकादेखि चार हजार मिटरभन्दा माथि रहेको बुकीपाटनसम्म पर्यटक पुग्ने गरेका छन् । पर्यटकका लागि शुल्क तिरेर पालसहित बस्न सकिने व्यवस्था पनि गरिएको आरक्ष कार्यालयले जनाएको छ ।
रेञ्जर सुवेदीका अनुसार ढोरपाटनको पर्यटन सम्भावना विस्तार हुँदै गएकाले आगामी दिनमा पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया