काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक विस्तारका क्रममा बाधक बनेका विद्युतीय पोल स्थानान्तरणको काम तीव्र रूपमा अघि बढाएको जनाएको छ ।
प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा भइरहेका सडक विस्तार आयोजनालाई सहज बनाउन गरिँदै आएको पोल सार्ने काम ८० देखि ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकमा बोल्दै नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पोल स्थानान्तरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनका अनुसार काठमाडौं–पोखरा सडक खण्डलगायत मुख्य क्षेत्रमा अधिकांश पोल सारिसकिएको छ । केही स्थानमा भने पुराना पोल हटाउने तथा प्राविधिक समस्या समाधान गर्ने काम मात्र बाँकी रहेको छ ।
श्रेष्ठले केही स्थानमा जमिनको सतह (ल्याण्ड लेभल) नमिलेका कारण तार भुइँ छुने जोखिम देखिएकाले पोल सार्न ढिलाइ भएको बताए । यस्ता स्थानमा सडक विभागसँग समन्वय गरी प्रदेश कार्यालयमार्फत काम भइरहेको उनको भनाइ छ ।
‘अब बाँकी रहेको मुख्य काम भनेको लेभल नमिलेका स्थानमा पोल सार्ने कार्य हो । यस्ता ठाउँमा तार छुने जोखिम भएकाले आवश्यक समन्वय गरेर काम भइरहेको छ,‘श्रेष्ठले भने ।
उनले मुख्य ठेकेदारले काममा ढिलाइ गरे पनि केही पोलका कारण सडक विस्तार नरोकिने बताए । आवश्यक परे प्राधिकरण आफैंले ठेकेदार परिचालन गरेर काम अघि बढाउने निर्देशन दिइएको उनले जानकारी दिए ।
प्राधिकरणले सडक विभागसँगको सहकार्यमा सातै प्रदेशका कार्यालयमार्फत पोल स्थानान्तरण गरिरहेको छ । विशेषगरी ११ केभीका पोल सार्ने काम सहज भएकाले छोटो समयमै सम्पन्न गर्न सकिने श्रेष्ठको दाबी छ ।
तराई क्षेत्रमा गर्मीका बेला विद्युत् कटौती गर्दा उपभोक्तामा असर पर्ने भएकाले प्राधिकरणले शटडाउन व्यवस्थापनमा नयाँ रणनीति अपनाएको छ । एउटा वा दुईवटा पोलका लागि पटक–पटक लाइन काट्नुभन्दा सडकको निश्चित क्षेत्र पूर्ण रूपमा तयार भएपछि एकैपटक शटडाउन लिएर सबै पोल सार्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
श्रेष्ठले कुनै विशेष स्थानमा पोलका कारण सडक निर्माण रोकिएको अवस्था आएमा त्यसलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘कुनै स्थानमा समस्या भए त्यसलाई गम्भीरतापूर्वक लिएर तत्काल समाधान गरिनेछ,‘ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया