गण्डकी । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा सम्पर्कविहीन भएका कास्कीका तीन युवक सकुशल फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा बिहीबार बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा सकुशल भेटिएका हुन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले तीनै जना सकुशल रहेको र उनीहरूको उद्धार भइरहेको जानकारी दिए ।
तीनै युवक बुधबार बिहान ८ बजेदेखि सम्पर्कविहीन भएका थिए । उनीहरूको मोबाइल फोन बन्द भएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।
जंगलमा बाटो बिराएर अलपत्र परेका उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए ।
घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलका अनुसार उनीहरूलाई मोदी खोलाको पारिपट्टि रहेको छुमरुङवेशी क्षेत्रमा सकुशल फेला पारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया