एमालेले पार्टी सदस्यता प्रणाली पूर्णरूपमा डिजिटल बनाउने

लोकपथ
21
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा डिजिटल बनाउने भएको छ ।

पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प्रदेश कमिटीले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको सदस्यतासम्बन्धी कार्यशालामा उक्त योजना सार्वजनिक गरिएको हो ।

पार्टी र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा संगठनलाई तल्लो तहसम्म प्रभावकारी र गतिशील बनाउने उद्देश्यले सदस्यता प्रणालीलाई डिजिटल बनाउने कार्ययोजना अघि सारिएको एमालेले जनाएको छ ।

कार्यशालामा पार्टी सचिव डा। राजन भट्टराईले डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै पार्टीका गतिविधिलाई व्यवस्थित बनाइने बताए । उनले पार्टी विवरण, संगठनको अवस्था, सूचना, प्रतिवेदन तथा जनसम्पर्कलाई डिजिटल माध्यममार्फत अघि बढाउन पार्टी पंक्तिलाई प्रेरित गरिने जानकारी दिए ।

एमाले नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि वडा तथा पालिका तहमा नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

पार्टी सचिव भानुभक्त ढकालले सदस्यता तथा अन्य महत्वपूर्ण दस्तावेजलाई प्राकृतिक तथा अन्य जोखिमबाट सुरक्षित राख्न र संगठनात्मक कामलाई थप प्रभावकारी बनाउन सदस्यता प्रणालीलाई डिजिटल बनाउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?