काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रसँगै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
विभागका अनुसार बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्र, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
विभागले भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया