मोटरसाइकल दुर्घटनामा घाइते भएका साथीको हत्या गरी फरार व्यक्ति पक्राउ

लोकपथ
497
Shares

काठमाडौं । मोटरसाइकल दुर्घटनाबाट घाइते भएका आफ्नै साथीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–७ बस्ने २० वर्षीय गोविन्द जैसी रहेका छन् ।

गत साउन १५ गते राति करिब २ बजे सोही नगरपालिका ९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनाबाट मोटरसाइकल चालक गोविन्द जैसी घाइते भएका थिए ।

मोटरसाइकलको पछाडि सवार सोही नगरपालिकाका बेथहनी बस्ने २७ वर्षीय आसाराम थारु भने सम्पर्कविहीन थिए ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान गर्दै जाँदा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसारामको शव फेला परेको थियो ।

गोविन्दले दुर्घटनापछि घाइते अवस्थामा रहेका सहयात्री आसारामलाई उद्धार गर्नुको सट्टा उल्टै निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरी आसारामले लगाएको माला तथा डोरीले घाँटी कसी हत्या गरी शवलाई सिँचाइ नालामा फालेर फरार भएका थिए ।

पक्राउ परेका उनलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?