बागमती सरकारमा हानेपाको ‘इन्ट्री’, एमाले–नेकपालाई धक्का

लोकपथ
8.2k
Shares

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हाम्रो नेपाली पार्टी (हानेपा)लाई सरकारमा सहभागी गराएका छन् । मुख्यमन्त्री बानियाँले हानेपाको संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री नियुक्त गरेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले) को सत्ता साझेदारीमा बागमती प्रदेश सरकार गठनको पहल चलिरहँदा मुख्यमन्त्री बानियाँले विश्वासको मत पु¥याउन हानेपाका बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री बानियाँले मंगलबार संविधानको १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्को पुनर्गठन तथा कार्यविभाजनमा हानेपाका बज्राचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहेकी बिनु रायमाझी नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड (क) बमोजिम यसअघि राजीनामा दिएकी थिइन् ।

हानेपा कांग्रेस नेतृत्वको सरकारमा प्रवेश गरेसँगै अब बन्ने नयाँ गठबन्धनका लागि अर्को चुनौती थपिएको छ ।

हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमाले र नेकपासँग ५१ जना छन् । राप्रपाले बाम गठबन्धनलाई साथ नदिएको अवस्थामा हानेपाको दुई सिट ल्याएर सरकार गठन गर्ने तयारीमा यी दुई दल थिए । मुख्यमन्त्री बानियाँको यो कदमसँगै एमाले–नेकपालाई धक्का पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?