कांग्रेस प्रदेशसभा सदस्य देउवालाई मस्ती : ११ महिनादेखि छन् अमेरिकामा, सेवा–सुविधा भने नियमित

लोकपथ
133
Shares

धनगढी । नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा ११ महिनादेखि सदनमा अनुपस्थित भएपनि प्रदेशसभा सदस्यका रूपमा पाउने तलब र सेवा–सुविधा भने नियमित रूपमा उनको बैंक खातामा जम्मा भइरहेको खुलेको छ ।

पूर्वभौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका देउवा गएको २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि २८ भदौमा व्यक्तिगत कामका लागि अमेरिका गएको भएपनि उनी नेपाल फर्किएका छैनन् ।

स्वास्थ्यमा समस्या देखिएको भन्दै उनले आठ महिनापछि अर्थात् २३ चैत २०८२ मा सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएर प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका थिए ।

स्वास्थ्यमा सुधार भएपछि नेपाल फर्केर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता उनले पत्रमा जनाएका थिए । तर त्यो पत्र पठाएको ४ महिनाभन्दा बढी बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन् । उनी अहिले कहाँ छन्, कहिले फर्किन्छन् भन्ने नेपाली कांग्रेस कैलालीलाई पनि केही जानकारी छैन ।

नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनार भन्छन्, ‘२–३ महिनाअघि फोनमा कुरा हुँदा छिट्टै आउँछु भन्नु भएको थियो, त्यसयता उहााँग सम्पर्क भएको छैन ।’

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजासमेत रहेका कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित सांसद प्रकाशबहादुर देउवालाई प्रदेशसभाबाट अन्यथा निर्णय नभएसम्म तलब वा सुविधा रोक्न नमिल्ने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले प्रदेशसभाबाट अन्यथा निर्णय नभएसम्म तलब वा सुविधा रोक्न नमिल्ने बताए । ‘उहाँमाथि प्रदेश सभाबाट कुनै निर्णय भएको छैन । त्यसैले नियमअनुसार सेवा–सुविधा नियमित रूपमा खातामा पठाइरहेका छौँ,’ उनले भने ।

प्रदेशसभा नियमावली, २०८० अनुसार कुनै सदस्य लगातार १० वटा बैठकमा सूचनाविना अनुपस्थित भए पद रिक्त हुन सक्छ । देउवाले ८ बैठकपछि सभामुखलाई सूचना पठाएका थिए । त्यसैले हालसम्म पद रिक्त गर्ने प्रक्रिया अघि नबढेको सुदूरपश्चिम प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?