काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम्मको सडक अवस्थाबारे जानकारी सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै सडक पूर्ण वा आंशिक रूपमा बन्द छन् ।
ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा सोमबार बिहान पहिरो जाँदा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।
कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ भने इलामको मेची राजमार्ग अझै बन्द छ । तेह्रथुमको काँडे क्षेत्रमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागमती प्रदेशमा जोखिमका कारण केही सडकमा राति सवारी सञ्चालन रोकिएको छ । बीपी राजमार्गमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथको हेटौँडा–ललितपुर खण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ ।
सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग बन्द छ। दोलखाको लामासाँघु–रामेछाप सडकमा भने वैकल्पिक बाटोबाट सवारी सञ्चालन भइरहेको छ । रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक पनि बाढीका कारण बन्द छ ।
गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ । गोरखा, मनाङ, म्याग्दी र लमजुङका विभिन्न सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा बाढीले भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पनि बन्द भएको प्रहरीले जनाएको छ ।
प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया