साउन । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा यस नाकाबाट १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको अलैँची निर्यात भएको छ ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको थियो । एक वर्षको अवधिमा निर्यात कारोबार चार अर्ब ९६ करोड २९ लाख ३३ हजारले बढेको हो । यो वृद्धि करिब ६४।६५ प्रतिशत रहेको भन्सार कार्यालयले जनाएको छ ।
निर्यात कारोबारसँगै अलैँचीको निर्यात परिमाण पनि उल्लेखनीय रूपमा बढेको छ । गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलोग्राम अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा भने ४२ लाख ९४ हजार ५५० किलोग्राम मात्रै अलैँची निर्यात भएको थियो ।
काँकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको बढ्दो मागका कारण निर्यात कारोबारमा उल्लेखनीय वृद्धि भएको हो ।
नेपालको पूर्वी पहाडी जिल्लामा मुख्य रूपमा उत्पादन हुने अलैँची देशको प्रमुख नगदे बालीमध्ये एक हो । यसको निर्यातले किसानको आम्दानी वृद्धि गर्नुका साथै मुलुकको विदेशी मुद्रा आर्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
भन्सार अधिकृत राईले उत्पादन वृद्धि, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सके आगामी वर्षहरूमा अलैँची निर्यात अझ बढ्ने सम्भावना रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया