धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी

लोकपथ
119
Shares

जनकपुर । तराईका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था सामान्य बनाउन गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन् ।

गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना लगायत आन्दोलनरत समूहका प्रतिनिधिहरूसँग छलफल अघि बढाएका हुन्। सरकारले संवादमार्फत उत्पन्न विवाद समाधान गर्दै सामाजिक सद्भाव कायम गर्ने प्रयासस्वरूप वार्ता थालेको जनाएको छ।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई युवकको मृत्यु भएपछि तराईका विभिन्न जिल्लामा प्रदर्शन र आन्दोलन चर्किएको थियो । त्यसपछि सिरहामा पनि हिन्दु र मुस्लिम समुदायबीचको विवाद उग्र बन्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना युवाको मृत्यु भएको थियो ।

बिग्रँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङ यतिबेला तराई भ्रमणमा रहेका छन् । उनले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आन्दोलनरत पक्षसँग छुट्टाछुट्टै छलफल गर्दै शान्ति र सद्भाव कायम गर्ने पहल गरिरहेका छन् ।

सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएसँगै केही जिल्लाको अवस्था क्रमिक रूपमा सामान्य बन्दै गएको जनाइएको छ । प्रशासनले केही स्थानबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन।

सरकारले वार्ता र संवादमार्फत नै समस्या समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?