काठमाडौं । सशस्त्र प्रहरी बलले कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैरकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन सबैमा हार्दिक अनुरोध गरेको छ ।
सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीका नाममा शुक्रबार जारी अपिलमा भनिएको छ, ‘समाजमा कहिलेकाहीँ देखिने असमझदारी र मतभेदहरूको समाधान गर्ने जिम्मेवारी पनि अन्ततः हामी सबैको साझा दायित्व हो । हुलहुज्जत, हिंसा र दंगाले समस्या समाधान गर्नुको साटो हामी आफैलाई क्षति पु¥याउँछ । हिंसा, तोडफोड र आगजनी जस्ता कार्यहरूले सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र एकता कमजोर हुन जान्छ । एक अर्काको दुःखमा साथ दिने र अप्ठ्यारोमा सहयोग गर्ने मानवीय भावना नै नेपाली समाजको मौलिक पहिचान हो । त्यसैले कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैरकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’
पछिल्ला दिनमा देशका केही स्थानमा देखिएको असहज परिस्थितिको सन्दर्भमा समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्न समन्वयात्मक ढंगबाट सशस्त्र प्रहरी बल, नेपाल परिचालित भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।
नेपाली समाजले सदियौँदेखि आपसी बन्धुत्व, सहिष्णुता र सहअस्तित्वलाई उच्च महत्व दिँदै आपसी संवाद, समझदारी, सद्भाव र सहिष्णुताको माध्यमबाट जटिल समस्याहरू समेत आफै समाधान गर्दै आइरहेको पनि सशस्त्र प्रहरीले स्मरण गराएको छ ।
अपिलमा भनिएको छ, ‘घटनाका सम्बन्धमा निष्पक्ष छानबिन प्रक्रिया अघि बढिसकेको छ । अहिले हामीले संयमता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गर्ने समय हो । कुनै धर्म, समुदाय वा समूहप्रति घृणा, द्वेष वा उत्तेजना फैलाउने कार्यले समस्यालाई झन् जटिल बनाई समाजलाई अपूरणीय क्षति पु¥याउँछ । सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति कायम राखी एक अर्काको सम्मान गर्दै कुनै पनि भ्रामक अभिव्यक्ति नदिन र प्रचार–प्रसारण नगर्न समेत सशस्त्र प्रहरी बल, नेपाल हार्दिक अपिल गर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया