‘सेभेन अप’ को प्रयोगशाला परीक्षण : भेटिएन कुनै कैफियत, उत्पादन र बिक्री पुनः सुरु

लोकपथ
0
Shares

काठमाडौं । वरुण बेभरेजले उत्पादन र बिक्री वितरण गर्दै आइरहेको पेय पदार्थ सेभेन अप (7UP) को उत्पादन र बिक्री गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पुनः अनुमति दिएको छ ।

कार्यालयले प्रयोगशाला परीक्षणपछि सेभेन अपमा कुनै कैफियत नदेखिएपछि उत्पादन तथा बिक्री वितरण पुनः सुचारु गर्न अनुमति दिएको हो ।

केही दिनअघि वरुण बेभरेजको प्रमुख पेय पदार्थमध्ये पर्ने सेभेन अप (7UP) मा कैफियत भेटिएको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तत्कालका लागि उत्पादनमा रोक लगाएको थियो ।

जनगुनासो र उजुरीपछि विभागको टोलीले गत साउन ७ गते काठमाडौंको पेप्सीकोलास्थित वरुण वेभरेजको प्लान्टमा अनुगमन समेत गरेको थियो । यद्यपि अनुगमनका क्रममा कुनै कैफियत फेला पारेको थिएन ।

सेभेन अपको ब्याच नं B006 उत्पादन मिति 16-04-2-2026  को प्याकिङ बोतलभित्र बाह्य पदार्थ भेटिएको गुनासोपछि अनुगमन गर्दा भण्डारण गरिएका पेय पदार्थमा कैफियत भेटिएको थिएन । तर विभागले मानव स्वास्थ्यलाई मध्यनजर गर्दै नमुना संकलन गरी प्रयोगशाला परीक्षण गरेको थियो ।

परीक्षणपछि कुनै पनि कैफियत नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी खगिन्द्र प्रसाद खतिवडाले जानकारी दिए ।

सेभेन अपमा कुनै कैफियत नभेटिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३३९४० अनुसार विक्रीवितरण तथा उत्पादन रोक्का खुला गर्ने आदेश दिइएको उनले बताए ।

‘…२५० एमएल को सेभेन अपको ब्राण्ढडको स्वीटेनेड कार्बोनेटेड वाटरको गुणस्तर परीक्षण गराउँदा श्रीमान सार्वजनिक खाद्य विश्लेषकज्यूबाट प्राप्त विश्लेषण प्रतिवेदन अनुसार गुणस्तरमा कुनै कैफियत देखिन नआएकोले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २० बमोजिमको दायित्व पूरा गरी, तयारी उत्पादित खाद्य पदार्थको गुणस्तर सुनिश्चितता पश्चात मात्र बिक्री वितरण हुने गरी खाद्य उद्योग सञ्चालन गर्ने सर्तमा मिति २०८३–०४–१४ को निर्णय तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३३९४० अनुसार बिक्रीवितरण तथा उत्पादन रोक्का खुला गर्ने आदेश दिइएको छ । सो अनुसार गराउनु होला,’ विभागले वरुण वेभरेजलाई लेखेको पत्रमा भनिएको छ ।

त्यससँँगै वरुण वेभरेजले करिब एक साता रोक्का भएको सेभेन अपको उत्पादन र बिक्री वितरण पुनः थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?