काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था थियो वा थिएन भन्ने विषयमा निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले घटनामा सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाउँदै समस्या समाधानका अन्य विकल्पमा पर्याप्त पहल गरिएको थियो वा थिएन भन्ने विषयसमेत अध्ययन गर्नुपर्ने बताएका हुन् ।
कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद उग्र बन्दा भएको झडपमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दाहालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
घटनाले साम्प्रदायिक विद्वेषको रूप लिन सक्ने भन्दै उनले सरकारले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले यस्ता संवेदनशील घटनालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।
संसद् सम्बोधनका क्रममा दाहालले देशको समग्र राजनीतिक अवस्थाप्रति पनि चिन्ता व्यक्त गरे। निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धताअनुसार सरकारका गतिविधि अघि बढ्न नसकेको टिप्पणी गर्दै उनले जनताको अपेक्षा र सरकारको कार्यसम्पादनबीच तालमेल अभाव हुँदा राजनीतिक अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको बताए ।
उनले भने, ‘त्यहाँ त्यो स्तरको गोली चलाउनैपर्ने अवस्था थियो वा थिएन, समस्या समाधानका अन्य विकल्पहरूमा के कति पहल गरियो, यी सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपिल गर्दछु ।’
दाहालले संसद्मा फरक मत र तर्क–वितर्क स्वाभाविक भए पनि सरकारले जनताको बढ्दो असन्तुष्टि र मुलुकको जटिल बन्दै गएको राजनीतिक अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया