काठमाडौं । नेकपा (एमाले) की संसदीय दलकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले सरकारले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न असफल भएको आरोप लगाएकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले साउन १० गते सुनसरीमा भएको हिंसात्मक झडप र त्यसमा एक जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकार र विशेषगरी प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाइन् ।
अर्यालले दङ्गा नियन्त्रण बल प्रयोगबाट नभई संवाद, विश्वास र संयमताका माध्यमबाट गर्नुपर्नेमा राज्यले त्रास सिर्जना गरेर अवस्था थप उत्तेजित बनाएको आरोप लगाइन् । उनले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
उनले विगतमा यस्ता घटनामा तत्कालीन सरकारसँग राजीनामा माग्नेहरू नै अहिले सत्तामा रहेको स्मरण गराउँदै सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागसमेत गरिन् ।
प्रधानमन्त्री मुलुक संकटमा पर्दा पनि जनतामाझ नपुगेको आरोप लगाउँदै अर्यालले शान्ति र सद्भाव कायम गर्न सरकारले ठोस योजना ल्याए एमाले सहकार्य गर्न तयार रहेको, तर सरकारले आवश्यक तत्परता नदेखाएको बताइन् ।
उनले भनिन्, ‘काठमाडौंमा गोली चल्दा र मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेहिता लिनुपर्छ भन्नेहरू आज सुनसरीमा नागरिकको ज्यान जाँदा किन मौन हुनुहुन्छरु प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि मात्र होइन। देशमा अशान्ति हुँदा र जनता पीडामा पर्दा नेतृत्वले जनताबीच पुगेर संवाद गर्नुपर्छ ।’
संसद्मा प्रधानमन्त्रीले विगतमा दिएको केही अभिव्यक्तिप्रति लक्षित गर्दै अर्यालले ती अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकतामाथि आँच पुर्याएको दाबी गरिन् । साथै, बाढी–पहिरो प्रभावितको राहत तथा पुनर्स्थापनामा सरकार सुस्त रहेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
सुकुम्बासी व्यवस्थापनका नाममा होल्डिङ सेन्टरमा राखेर पछि अमानवीय ढंगले हटाउने कार्य भएको आरोप लगाउँदै उनले सरकारको गैरजिम्मेवार कार्यशैलीको पनि आलोचना गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया