काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा सुशासन कायम गर्न राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र र निर्वाचन प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताएका छन् ।
बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद केसीले राजनीतिक दलहरू सुशासनको पहिलो पाठशाला भएकाले दलभित्रको लोकतान्त्रिक अभ्यास बलियो बनाउनुपर्नेमा जोड दिए ।
उनले वर्तमान निर्वाचन पद्धति र प्रक्रियामा सुधार नगरी मुलुक अघि बढ्न नसक्ने उल्लेख गर्दै राजनीतिक दलमा विकास हुने संस्कृति र संस्कारले नै राष्ट्र सञ्चालनको पद्धति निर्धारण गर्ने बताए । त्यसैले ‘पोलिटिकल पार्टी रिफर्म’ (राजनीतिक दल सुधार) लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै तहमा गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो ।
सांसद केसीले दलहरूभित्र आन्तरिक लोकतन्त्र स्थापित गर्न निर्वाचन आयोगको प्रभावकारी नियन्त्रण र सुपरीवेक्षण आवश्यक रहेको बताए । उनले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा व्यापक संशोधन गरी यसलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिए ।
निर्वाचनमा भाग नलिने तथा निष्क्रिय रहेका दलहरूको व्यवस्थापनबारे बोल्दै उनले संविधानको धारा १७ ले सुनिश्चित गरेको स्वतन्त्रताको अधिकार र लोकतन्त्रका आधारभूत मान्यतासँग सम्झौता नगरी उचित निष्कर्षमा पुग्नुपर्ने धारणा राखे ।
उनले दलहरूमा लोकतन्त्र कमजोर हुँदै गएको टिप्पणी गर्दै भने, ‘हामीले पार्टीहरूको नाम लोकतान्त्रिक दियौँ, तर व्यवहारमा लोकतन्त्रलाई दलतन्त्र, दलतन्त्रलाई नेतातन्त्र र नेतातन्त्रलाई गिरोहतन्त्रमा परिणत गर्यौँ। नेतालाई घेरेर बस्ने गिरोह र बिचौलियाबाट दलहरू सञ्चालित हुने अवस्थाको अन्त्य हुनुपर्छ। संवैधानिक संस्थामा दृढ इच्छाशक्ति भएको नेतृत्व आवश्यक छ, जसले राजनीतिक पूर्वाग्रह वा स्वार्थभन्दा माथि उठेर निर्वाचन प्रणालीलाई व्यवस्थित गर्न सकोस् ।’
सांसद केसीले वर्तमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएकाले सामान्य नागरिकका लागि चुनाव लड्न कठिन भएको बताए । उनले भ्रष्टाचार न्यूनीकरणका लागि निर्वाचनमा ‘स्टेट फन्डिङ’ (राज्यद्वारा वित्तीय व्यवस्थापन) को मोडालिटीबारे राजनीतिक दलहरूबीच सहमति जुटाएर अघि बढ्नुपर्ने प्रस्ताव पनि राखे ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्तलाई सुझाव दिँदै उनले संवैधानिक संस्था कानुन र नियमले मात्र नभई त्यसको नेतृत्व गर्ने व्यक्तिको नैतिक बल, निष्पक्षता र कार्यशैलीबाट पनि प्रभावकारी रूपमा सञ्चालन हुने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया