काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो स्वरूपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नेपाल प्रहरीले साइबर ब्यूरोअन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गर्ने प्रस्ताव अघि बढाएको बताएका छन् ।
मंगलबार विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो समय मानव बेचबिखन परम्परागत स्वरूपबाट रूपान्तरण हुँदै डिजिटल प्लेटफर्ममार्फत हुने ‘साइबर स्लेभरी’ र ‘फोर्स्ड क्रिमिनालिटी’ का रूपमा विस्तार भइरहेको बताए ।
उनका अनुसार आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर नेपालीलाई विदेश पुर्याउने, त्यसपछि बन्धक बनाएर अनलाइन ठगी तथा साइबर अपराधमा संलग्न गराउने गिरोहको गतिविधि बढ्दो क्रममा छ । अधिकांश पीडित अनलाइन विज्ञापन वा डिजिटल सम्पर्कमार्फत अपराधीको जालमा पर्ने गरेको उनले उल्लेख गरे ।
यस्ता गिरोहको पहिचान र नियन्त्रणका लागि साइबर ब्यूरोअन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै कार्कीले मानव बेचबिखनलाई अब परम्परागत अपराधका रूपमा मात्र नभई साइबर अपराध, आर्थिक अपराध र अन्तर्राष्ट्रिय संगठित अपराधसँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रहरीका तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ५३० वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा ७१० जना पीडित रहेकोमा ६१० जना (झन्डै ८६ प्रतिशत) महिला तथा बालबालिका छन् ।
त्यस्तै, दक्षिणपूर्वी एसिया र भारतबाट उद्धार गरिएका २,०५२ भन्दा बढी नेपालीमध्ये १,७८७ जना (८७ प्रतिशत) महिला तथा बालबालिका रहेको उनले बताए ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार दक्षिण एसियामा मानव बेचबिखनबाट प्रभावित मुलुकमध्ये नेपाल शीर्ष चारभित्र पर्ने उल्लेख गर्दै कार्कीले यसको रोकथामका लागि प्रविधिमैत्री अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।
उनले अबको अनुसन्धान केवल कसुर र कसुरदार पत्ता लगाउनेमा सीमित नरही पीडितको शारीरिक, मानसिक र आर्थिक क्षतिको समेत अनुसन्धान गरी क्षतिपूर्तिको मागदाबी अघि बढाइने जानकारी दिए ।
प्रहरी महानिरीक्षक कार्कीले वैदेशिक रोजगारीका लागि विश्वभर रहेका नेपालीको सुरक्षा र कानुनी सहजीकरणका लागि भारतमा जस्तै खाडी मुलुक, युरोप, अमेरिका र मलेसियामा पनि प्रहरी सहचारीको व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया