नेपाललाई ठूलो राहत : गाभीले गर्‍यो ३ लाख डलर फिर्ता नलिने निर्णय

लोकपथ
70
Shares

काठमाडौं । खोपका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्था गाभीले नेपालसँग ३ लाख ८ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि गाभीले उक्त रकम फिर्ता लिनुको सट्टा गाभी ६.० कार्यक्रमअन्तर्गत नेपालले भविष्यमा पाउने सहयोगबाट समायोजन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सभाका क्रममा भएको छलफल, त्यसपछि भएको पत्राचार र नेपालले दिएको प्रस्तावका आधारमा गाभीले यो निर्णय गरेको हो । गाभीले भने यो निर्णय नेपालका लागि एकपटक मात्रै गरिएको विशेष व्यवस्था भएको स्पष्ट पारेको छ । भविष्यमा यसलाई उदाहरणका रूपमा नलिइने पनि जनाएको छ ।

गाभीले हालसम्म नेपाललाई ५५० मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराइसकेको छ । यसबाट नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोप विस्तार, कोल्ड चेन प्रणाली सुदृढीकरण, खोप खरिद, स्वास्थ्यकर्मीको क्षमता विकास, खोप व्यवस्थापन तथा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनमा सहयोग पुगेको छ ।

सन् २०२२ मा गाभीको सहयोगमा सञ्चालित कार्यक्रमको विशेष लेखापरीक्षण गरिएको थियो। त्यसपछि पुनः परीक्षण गर्दा केही रकमको विषयमा स्पष्टीकरण र भुक्तानी योजना मागिएको थियो । यस विषयलाई समाधान गर्न मन्त्री मेहताले गाभी नेतृत्वसँग छलफल गरेकी थिइन् र नेपालले औपचारिक प्रस्ताव पठाएको थियो ।

त्यसपछि गाभीले नेपालको प्रस्ताव स्वीकार गर्दै रकम फिर्ता नमाग्ने निर्णय गरेको हो ।

गाभीले नेपालको राष्ट्रिय खोप कार्यक्रम, वित्तीय व्यवस्थापनमा सुधार र लेखापरीक्षणका सुझाव कार्यान्वयनका प्रयासको प्रशंसा पनि गरेको छ । साथै, आगामी दिनमा पनि नेपालसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

सरोकारवाला निकायका अनुसार यस निर्णयले नेपाल–गाभी साझेदारी अझ बलियो हुने र राष्ट्रिय खोप कार्यक्रमलाई दीगो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?