गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल

लोकपथ
14
Shares

काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक सङ्घले गैरकानुनी रूपमा उत्पादन र बिक्री भइरहेका आयुर्वेद औषधि तथा भ्रामक विज्ञापनबारे प्रमाण उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ ।

संघले गृह मन्त्रालय र नेपाल प्रहरीसँगको सहकार्यमा अवैध आयुर्वेदिक गतिविधिमाथि अनुसन्धान भइरहेको जनाएको छ । तर, अझै पनि दर्ता नभएका औषधि, जडीबुटी र पोषण सामग्रीको नाममा अनलाइन तथा बजारमा गलत प्रचार भइरहेको गुनासो आएको सङ्घले बताएको छ ।

सङ्घले यस्ता गतिविधिबारे जानकारी भए औषधिको नाम, फोटो, अनलाइन लिंक, स्क्रिनसट, पसल वा क्लिनिकको विवरण, बिल–रसिद तथा अन्य प्रमाण उपलब्ध गराउन आग्रह गरेको छ ।

आयुर्वेदको नाममा हुने अवैध कामप्रति ‘शून्य सहनशीलता’ अपनाइने बताउँदै सङ्घले प्राप्त प्रमाण र सूचनाको गोपनीयता कायम राख्ने जनाएको छ ।

सङ्घले व्यक्तिगत रिसइबीका आधारमा नभई वास्तविक र पुष्टि गर्न सकिने प्रमाण मात्र उपलब्ध गराउन आग्रह गरेको छ ।

प्राप्त विवरण गृह मन्त्रालय, नेपाल प्रहरी र औषधि व्यवस्था विभागलगायत नियमनकारी निकायमा बुझाएर दोषीमाथि कानुनी कारबाही गरिने सङ्घका अध्यक्ष डा.शङ्कर गौतम र महासचिव डा. ऋषि केशव भुसालले जारी गरेको अपिलमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?