काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
स्मृति दिवसका अवसरमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट दलहरूले श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना गर्न लागेका छन् ।
विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा रहेर नेपाली कम्युनिस्ट आन्दोलनलाई अघि बढाएका थिए । उनी शहीद गङ्गालाल श्रेष्ठका भाइसमेत हुन् ।
पुष्पलालले कार्ल मार्क्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनले विभिन्न लेख तथा कृतिमार्फत नेपाली समाजको वर्गीय विश्लेषण गर्दै कम्युनिस्ट विचारधाराको विस्तारमा योगदान पुर्याएका थिए ।
विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए ।
नेकपा स्थापनाअघि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए ।
पुष्पलालले नेपाली कांग्रेससहित प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्था अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । उनको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।
स्मृति दिवसका अवसरमा नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीलगायत अन्य दलहरूले पनि विभिन्न कार्यक्रम गरी पुष्पलाललाई स्मरण गर्ने जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया