काठमाडौं । देशका विभिन्न प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकाले केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ ।
त्यसैगरी कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
रातिको समयमा वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रहनेछ भने हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात र पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मौसम विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया