काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई एक बनाउन संस्थापनले भूमिका नखेलेको आरोप लगाएका छन् ।
वीपी स्मृती दिवसका अवसरमा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरुले पदको बार्गेनिङ नगरेको बरु पार्टी एक बनाएर अघि बढ्न चाहेको बताए ।
उनले पार्टीलाई एकताबद्ध बनाउन तयार रहेको तर त्यसलाई नै पदको बार्गेनिङ गरिएको भाष्य सिर्जना गरिएको भन्दै कटाक्ष गरे । उनले आफूहरुले पार्टी मिलाउनका लागि विभिन्न प्रस्तावहरु लगेको तर संस्थापनले त्यसमा चासो नदेखाएको आरोप लगाए ।
‘विशेष महाधिवेशनबाट बनेको गगन थापाजी नेतृत्वको केन्द्रीय कार्यसमितिमा १४औँ महाधिवेशनको नियमित महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमितिका साथीहरुलाई मिलाएर गगन थापाजीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुस्,’ उनले भने, ‘हामीलाई जोड्नुस्, हामी जोडिन्छौँ सानेपामा एक ठाउँमा बस्छौँ भनेर भनेको कुरा के पद मागेको हो ? पदको लागि बार्गेनिङ गरेको हो ? हामी निवर्तनमा कार्यवाहक, उपसभापति, महामन्त्रीदेखि नेतासम्म पदैपदको भारी छ हामीलाई हामी कुनै कसैलाई पनि पदको आकांक्षा छैन ।’
यसैगरी खड्काले आफूहरुले युवाहरुलाई अघि सारेर आफूहरु रक्षा कवच भएर अघि बढ्ने समेत स्पष्ट पारे ।
‘हामी सबै अग्रपंक्तिका नेताहरु हामी कोही पनि निष्कृय बस्नेवाला छैनौँ, कोहीलाई भ्रम नहोस् । हामी युवाहरुलाई अगाडी सारेर, हामी आज भन्दा सक्रिय भएर युवाहरुको रक्षा कवच भएर अघि बढ्छौँ । तपाईँ युवाहरु ढुक्क हुनुस्, हामी तपाईँहरुको रक्षा कवच हुन तयार छौँ,’ खड्काले भने ।
यस्तै उनले कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतले पार्टी एकताका लागि भनेको भनाइहरु स्मरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया