श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम विभागको निर्देशन

लोकपथ
21
Shares

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितबाट प्राप्त हुने उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरेको छ ।

विभागले मंगलबार आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र जारी गर्दै उजुरीको शीघ्र सुनुवाइ र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो ।

विभागका अनुसार विगतमा हेल्लो सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विभाग तथा कार्यालयमा सिधै दर्ता भएका उजुरी समयमै सम्बोधन नभएको, सेवाग्राहीप्रति कर्मचारीको व्यवहार सन्तोषजनक नरहेको तथा न्याय दिन ढिलाइ भएको गुनासो बढेपछि नयाँ व्यवस्था लागू गरिएको हो ।

परिपत्रमा श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै आवश्यक प्रक्रिया अघि बढाई त्यसबारे सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ । साथै, कर्मचारीहरूले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ अनुसार आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने पनि विभागले स्पष्ट गरेको छ ।

कुनै विषय सम्बन्धित कार्यालयको क्षेत्राधिकारभित्र नपरेमा सेवाग्राहीलाई तत्काल जानकारी गराई सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ । त्यस्तै, श्रमिकका उजुरीका विषयमा सम्बन्धित प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने वातावरण मिलाउन पनि भनिएको छ ।

विभागले श्रम कानुनअनुसार विवाद समाधानका लागि वार्ताको व्यवस्था गर्न, वार्ताबाट समाधान हुन नसकेमा कार्यालयले यथाशीघ्र निर्णय गर्न तथा श्रम अदालत वा कार्यालयबाट भएका आदेश र निर्णय समयमै कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।

यस्तै, हेल्लो सरकार मार्फत प्राप्त गुनासोको सम्बोधन भएपछि त्यसको जानकारी पनि यथाशीघ्र अद्यावधिक गर्न विभागले सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?