सरकार-प्रतिपक्षको कार्यशैलीमाथि गगन थापाको व्यङ्ग्य – ‘सरकार र प्रतिपक्ष दुवै ‘ब्रेक’ बिना दौडिरहेका छन्’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीलाई व्यङ्ग्य गर्दै अहिलेको राजनीतिक अवस्थालाई ‘ब्रेक नभएको दौड’सँग तुलना गरेका छन् ।

बुधबार वीपी कोइरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतना दौडमा सहभागी भएपछि आयोजित कार्यक्रममा बोल्दै थापाले पाँच किलोमिटरको दौड बिना विश्राम पूरा गरेको अनुभव सुनाउँदै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि कटाक्ष गरेका हुन् ।

उनले प्रधानमन्त्री बालेन्द्र साहले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका क्रममा दिएको ‘सरकारको गाडीमा ब्रेक छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ’ भन्ने अभिव्यक्तिलाई संकेत गर्दै प्रतिपक्षको भूमिकासमेत त्यसैसँग तुलना गरे ।

थापाले भने, ‘म एकछिन पनि नरोकिई पाँच किलोमिटर दौडिएँ। मसँगै दौडिएका साथीहरूले ठट्टा गर्दै भन्नुभयो– गाडीमा ब्रेक नहुनेले सरकार चलाउने र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने कुरा ठ्याक्कै मिलेको छ।’

उनले उक्त टिप्पणीलाई सहज रूपमा लिएको उल्लेख गर्दै हाँस्दै “यसपालि यस्तै हो” भनेर प्रतिक्रिया दिएको पनि सुनाए ।

जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित पाँच किलोमिटरको ‘ग्रीन रन’ कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?