अफगानिस्तानमा आकस्मिक बाढी : २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

लोकपथ
14
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीका कारण ८० जना घाइते भएका छन् भने १०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मादले सामाजिक सञ्जाल ‘एक्स’मार्फत नुरिस्तानमा आएको बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको पुष्टि गरेका छन् । उनका अनुसार प्रान्तीय विपद् व्यवस्थापन विभागको टोली प्रभावित क्षेत्रमा पुगेर खोजी तथा उद्धार कार्य सुरु गरिसकेको छ ।

उद्धार टोलीले मृतकहरूको शव निकाल्ने, घाइतेहरूको उपचारको व्यवस्था मिलाउने तथा बेपत्ता व्यक्तिहरूको खोजीलाई तीव्र बनाएको छ । हम्मादले क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको र विस्तृत अनुसन्धान तथा मूल्याङ्कनपछि हताहती र भौतिक क्षतिको अन्तिम तथ्याङ्क सार्वजनिक गरिने बताए ।

यसैबीच, अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले खोजी तथा उद्धार कार्यलाई अझ प्रभावकारी र तीव्र बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार नुरिस्तानको प्रान्तीय राजधानी पारुन बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। बाढीले त्यहाँका सयौं घर, सार्वजनिक संरचना तथा अन्य पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएको छ । अधिकारीहरूले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?