इप्पानको संशोधित विधान लागू, कार्यसमिति २५ बाट बढाएर ३७ सदस्यीय बनाइयो

लोकपथ
0
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को संशोधित विधान औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विधान प्रमाणीकरण गरेपछि नयाँ व्यवस्था लागू भएको हो ।

इप्पानको २४औँ साधारणसभा तथा आठौँ अधिवेशनले संस्थाको नेतृत्व प्रणाली, कार्यसमिति संरचना र पदाधिकारीसम्बन्धी व्यवस्थामा संशोधन गरेको थियो । संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानसमेत समेटिएको छ ।

नयाँ व्यवस्थाअनुसार इप्पानको कार्यसमिति अब ३७ सदस्यीय हुनेछ । यसअघि संस्थाको कार्यसमिति २५ सदस्यीय थियो ।

संशोधित विधानले अध्यक्ष, निवर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित सात जना उपाध्यक्ष रहने व्यवस्था गरेको छ । तीमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुनेछिन् । त्यस्तै महासचिव, उपमहासचिव, सात जना सचिव (एक जना महिला अनिवार्य), कोषाध्यक्ष र ११ जना खुला सदस्य रहने प्रावधान राखिएको छ ।

खुला सदस्यतर्फ पनि समावेशी व्यवस्था गर्दै कम्तीमा चार जना महिला प्रतिनिधि सुनिश्चित गरिएको छ । साथै एसोसिएट सदस्य र युवा उद्यमीबाट एक–एक जनाको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ । यी प्रतिनिधि अध्यक्षले मनोनयन गर्ने र त्यसबारे कार्यसमिति बैठकमा जानकारी गराउनुपर्नेछ ।

विधान संशोधनसँगै इप्पानको संगठनात्मक संरचना थप विस्तार भएको छ भने नेतृत्व हस्तान्तरण प्रक्रियालाई समेत व्यवस्थित गर्ने उद्देश्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?