बगदाद । उत्तरी इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैन्य सदस्यको मृत्यु भएको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार, इरानी ड्रोन खसालेपछि त्यसमा रहेको निष्क्रिय नभएको विस्फोटक पदार्थलाई नियन्त्रणमा लिएर नष्ट गर्ने क्रममा उक्त सैनिकको मृत्यु भएको हो । घटनामा अर्का एक सैनिक घाइते भएका छन् ।
यो घटना जोर्डनस्थित अमेरिकी सैन्य बेसमा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको र अर्का एक जना बेपत्ता भएको विवरण सार्वजनिक भएको भोलिपल्ट भएको हो । सेन्टकमले जोर्डन आक्रमणस्थलको खोजीका क्रममा ‘अज्ञात अवशेष’ फेला परेको र त्यसको पहिचान तथा पुष्टि गर्ने प्रक्रिया जारी रहेको जनाएको छ ।
अमेरिका र इरानबीच जारी तनाव आठौँ दिनमा प्रवेश गर्दा दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखेका छन् । पछिल्ला दिनहरूमा दुवै देशले एकअर्काका महत्वपूर्ण पूर्वाधारमा क्षति पुर्याएको दाबी गरेका छन् ।
यसैबीच, प्रारम्भिक युद्धविराम भङ्ग भएपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी लगाएको छ भने इरानले हर्मुज जलडमरूमध्य बन्द भएको घोषणा गर्दै क्षेत्रका अमेरिकी सहयोगीहरूलाई लक्षित गर्ने चेतावनी दिएको छ ।
अमेरिकी सेनाले पछिल्ला आक्रमणहरू इरानको समुद्री क्षेत्रमा व्यापारिक जहाजलाई धम्की दिने क्षमतालाई कमजोर बनाउन र जोर्डनस्थित अमेरिकी सैन्य अखडामा भएको आक्रमणका लागि जिम्मेवार भनिएको इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्स (आईआरजीसी) विरुद्ध तत्काल कारबाहीका रूपमा गरिएको जनाएको छ ।
जोर्डनस्थित अमेरिकी सैन्य अखडामा भएको आक्रमणको भिडियोमा कम्तीमा दुई पटक विस्फोट भएको देखिएको छ ।
यसअघि यसै महिनाको सुरुमा बेपत्ता भएका एक अमेरिकी नौसेना पाइलटलाई मृत घोषणा गरिएपछि जारी संघर्षमा अमेरिकी सैनिकको मृत्यु हुने संख्या १७ पुगेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया