चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा सोमबार बिहान पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज बिहान करिब २ः२० बजे पहिरो खसेपछि उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिरो हटाउने कार्य तीव्र रूपमा भइरहेको छ । उनले बिहान ९ बजेसम्म सडक खुलाएर सवारी आवागमन पुनः सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।
अत्यधिक वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आइतबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा पृथ्वी राजमार्गको चितवन क्षेत्र हुँदै हुने सवारी आवागमन अस्थायी रूपमा बन्द गरेको थियो ।
प्रहरीका अनुसार पहिरो पन्छाइएपछि सडक पुनः सञ्चालनमा ल्याइनेछ । यसैबीच, नारायणगढ–मुग्लिन सडक हुँदै पोखरातर्फ जाने केही सवारीसाधन भने सञ्चालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया