काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले यस्तो आरोप लगाएको हुन् ।
उनले दुईतिहाइ बहुमतको सरकार जनताको विश्वास र अपेक्षाका आधारमा बनेकाले नागरिकका समस्या समाधान गर्न जिम्मेवार हुनुपर्ने बताएका छन् ।
उनले पछिल्ला केही महिनामा पाँच जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जनालाई गम्भीर चिन्ताको विषय भन्दै त्यसलाई बढ्दो निराशाको परिणामको रूपमा व्याख्या गरे । यस्तो अवस्था सिर्जना हुनुमा सम्बन्धित सबै पक्ष जिम्मेवार भए पनि सबैभन्दा बढी जिम्मेवारी सरकारकै हुने उनको भनाइ थियो।
घिसिङले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै यही अवस्थामा सरकार पाँच वर्ष टिक्न कठिन हुने दाबी गरे । ‘हाम्रो चाहना सरकार पाँच वर्ष टिकोस भन्ने हो। तर अहिलेको शैलीले सरकार पाँच वर्ष टिक्ने अवस्था देखिँदैन,‘ उनले भने ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति पनि टिप्पणी गर्दै पार्टीले “बोल्ने एउटा र गर्ने अर्को” शैली अपनाएको आरोप लगाए ।
घिसिङले सरकारलाई जनताको भावना र अपेक्षाअनुसार काम गर्न आग्रह गर्दै त्यसो नभए जनस्तरबाट आन्दोलन हुने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया