श्रम शोषणको आरोप लगाउँदै प्रशिक्षार्थी चिकित्सकहरूको प्रदर्शन

लोकपथ
7
Shares

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थी चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भइरहेको भन्दै शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्ध संघर्ष समिति गठन गरेर आफ्ना माग सार्वजनिक गरेका हुन् ।

प्रदर्शनकारी चिकित्सकहरूले नेपालको श्रम ऐन, २०७४ अनुसार दैनिक १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी काम गराउन नहुने तथा हप्तामा कम्तीमा एक दिन अनिवार्य बिदा दिनुपर्ने व्यवस्था भए पनि आफूहरूलाई त्यसभन्दा धेरै समय काममा लगाइएको गुनासो गरेका छन् ।

उनीहरूले हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइए श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) को भत्ता दिनुपर्ने माग पनि गरेका छन् ।

त्यसैगरी, सरकारले बजेटमार्फत घोषणा गरेको तलब वृद्धि र यसअघि भएको सहमतिअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको तलब तुरुन्त लागू गर्नुपर्ने उनीहरूको माग छ ।

यस्तै, एमबीबीएस वा बीडीएस अध्ययन पूरा गरेपछि एमडी, एमएस वा एमडीएस अध्ययनका लागि अनिवार्य गरिएको एक वर्षको कार्यअनुभव (वर्क एक्सपिरियन्स) को व्यवस्था हटाउन पनि उनीहरूले सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?