कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा २८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले रोकथाम तथा नियन्त्रणका गतिविधि प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक तथा कीटजन्य रोग सम्पर्क व्यक्ति (फोकल पर्सन) सिद्धराज भट्टका अनुसार जनवरीमा पाँच, फेब्रुअरीमा छ, मार्चमा पाँच, अप्रिलमा सात, मेमा दुई र जुनमा तीन जनामा डेंगु संक्रमण देखिएको हो ।
यही अवधिमा सुदूरपश्चिम प्रदेशभर ७० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेशका अन्य जिल्लामध्ये अछाममा १३, कैलालीमा १०, डडेल्धुरामा आठ, बझाङमा छ, डोटीमा तीन तथा दार्चुला र बैतडीमा एक–एक जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार डेंगु ‘एडिस एजिप्टाई’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । उक्त लामखुट्टेले सफा र जमेको पानीमा अण्डा पार्ने तथा दिउँसो बढी सक्रिय हुने भएकाले घर, विद्यालय, कार्यालय र सार्वजनिक स्थान वरपर पानी जम्न नदिन विशेष ध्यान दिनुपर्ने भट्टले बताए ।
‘डेंगुका चार प्रकारका विषाणु हुन्छन्। एकपटक लागेको प्रकारको डेंगु पुनः नलागे पनि अर्को प्रकारको संक्रमण हुन सक्छ। दोस्रोपटक हुने संक्रमण अझ जटिल र जोखिमपूर्ण हुनसक्छ,‘भट्टले भने ।
डेंगुको संक्रमणकाल सामान्यतया तीनदेखि १० दिनसम्म रहने स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमण भएपछि उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, पेट तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, शरीरमा रातो बिमिरा देखिने तथा गम्भीर अवस्थामा आन्तरिक वा बाह्य रक्तस्रावसमेत हुनसक्ने बताइएको छ ।
शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले समयमै परीक्षण र उपचार गरे डेंगुबाट हुने मृत्युदर दुई प्रतिशतभन्दा कममा सीमित गर्न सकिने बताए । उनका अनुसार शिशु, गर्भवती, ज्येष्ठ नागरिक, मोटोपन भएका व्यक्ति, दीर्घरोगी तथा अत्यधिक रक्तस्राव भएका बिरामी डेंगुको उच्च जोखिममा पर्छन् ।
उनले ज्वरो कम गर्न सिटामोल प्रयोग गर्न सकिने भए पनि चिकित्सकको सल्लाहबिना आइबुप्रोफेन र एस्पिरिनजस्ता औषधि प्रयोग नगर्न सुझाव दिए ।
स्वास्थ्यकर्मीका अनुसार एउटा एडिस लामखुट्टेको आयु करिब ३० दिन हुन्छ र यस अवधिमा एउटा पोथी लामखुट्टेले पाँच सयदेखि एक हजारसम्म अण्डा पार्न सक्छ । पानी नहुँदा पनि लामखुट्टेका अण्डा महिनौँसम्म जीवित रहन सक्ने भएकाले पानी जम्न नदिनु नै डेंगु नियन्त्रणको प्रभावकारी उपाय भएको स्वास्थ्यकर्मी कृष्णराज जोशीले बताए ।
नेपालमा सन् २००४ मा पहिलोपटक विदेशी नागरिकमा डेंगु संक्रमण पुष्टि भएको थियो। त्यसयता यो संक्रमण हरेक वर्ष विभिन्न जिल्लामा फैलिँदै आएको छ । जलवायु परिवर्तन, तीव्र सहरीकरण, कमजोर रोग निगरानी प्रणाली, समयमै परीक्षणको अभाव, बसाइँसराइ र समुदायको न्यून सहभागितालाई डेंगु नियन्त्रणका प्रमुख चुनौतीका रूपमा लिइएको छ ।
कञ्चनपुरका नौवटै स्थानीय तहमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानअन्तर्गत लार्भा नष्ट गर्ने, सरसफाइ गर्ने, जनचेतना फैलाउने, समुदाय परिचालन गर्ने तथा छलफल र गोष्ठी सञ्चालन गरिनेछ ।
स्वास्थ्यकर्मीहरूले गमला, फूलदानी, ड्रम, टायर र अन्य भाँडामा पानी जम्न नदिन, खानेपानीका ट्याङ्की ढाकेर राख्न, झ्यालढोकामा जाली लगाउन तथा दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया