एनपीएलमा ६ टिमको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रीम इनर्जी ड्रिंक्स, कुन कुन टिम पर्‍याे ?

लोकपथ
161
Shares

काठमाडौं । चर्चित ईनर्जी ड्रिंक्स एक्स्ट्रीमले नेपाल प्रिमियर लीग (एनपीएल) मा  ६ वटा टिमलाई स्पोन्सर गर्ने भएको छ । एक्स्ट्रीमले नेपाल प्रिमियर लीग (एनपीएल) को तेस्रो संस्करणका लागि ६ वटा फ्रेन्चाइजी टिमसँग टाइटल स्पोन्सरसिपको सम्झौता गरेको हो । 

एग्रो बाई फुड्स प्रालिबाट उत्पादित इनर्जी ड्रिंक्स एक्स्ट्रीमले नेपाली क्रिकेटको सबैभन्दा ठुलो फ्रेन्चाइज प्रतियोगितामा ८ मध्ये ६ टिमलाई टाइटल स्पोन्रसीप गरेको हो । कम्पनीले यसलाई नेपाली खेलकुद इतिहासमै निजी क्षेत्रबाट भएको सम्भवतः सबैभन्दा ठुलो व्यावसायिक साझेदारीका रूपमा व्याख्या गरेको छ ।

सोमबार ललितपुरमा ‘नेपाल्स बिगेस्ट साइनिङ सेरेमनी’ गर्दै एक्स्ट्रीमले ६ वटा फ्रेन्चाइजी टोलीसँग औपचारिकरुपमा स्पोन्सरसीपको सम्झौता सम्पन्न गरेको हो । सम्झौता गरिएका टोलीहरूमा काठमाडौं गुर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स रहेका छन् ।

सम्झौता अनुसार, एक्स्ट्रीम इनर्जी ड्रिंक्स आगामी तीन वर्षसम्म सम्बन्धित टोलीहरूको प्रमुख प्रायोजक रहनेछ । साथै, टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा ब्रान्डको लोगो रहने सम्झौतामा उल्लेख छ । 

एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणाले साइनिङ सेरेमनीपछि भनिन्, ‘यो सहकार्य नेपाली क्रिकेटको व्यावसायिक बिस्तारसँगै खेल उद्योगमा निजी क्षेत्रको बढ्दो विश्वासको संकेत हो ।’

कम्पनीका नेसनल सेल्स म्यानेजर कृष्ण दहालले एनपीएलसँगको सहकार्यलाई गर्वको विषय बताउँदै यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धन मात्र नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान दिने उद्देश्यसहित गरिएको स्पष्ट पारे ।

एक्स्ट्रीम इनर्जी ड्रिंक्सले व्यावसायिक क्रियाकलापका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको आर्थिक, सामाजिक क्षेत्रसँगै यस पटक खेलकुदमार्फत राष्ट्रिय पहिचान र सबै नेपालीलाई भावनात्मक रूपमा एउटै ठाउँमा ल्याउने प्रयोजनका लागि यो लगानी गरिएको कम्पनीले बताएको छ ।

एक्स्ट्रीम इनर्जी ड्रिंक्सले विगत केही समयदेखि नेपाली खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ । यसअघि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजन गरेको थियो । त्यस्तै विभिन्न समयमा भएका क्रिकेट, फुटबल, भलिबल, म्याराथन तथा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि प्रायोजकको रूपमा भूमिका खेल्दै आएको छ ।  

नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको तेस्रो संस्करणका लागि आजै खेलाडीको अक्सन गर्दैछ । अक्सनमार्फत ८ फ्रेन्चाइजी टोलीले कुल ५२ नेपाली खेलाडी अनुबन्ध गर्नेछन् । आगामी एनपीएल संस्करण दसैँपछि आयोजना हुने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?