काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुकुमबासी र अव्यवस्थित बसोबासीमाथि भइरहेको व्यवहारप्रति सरकारको कडा आलोचना गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) साहलाई लक्षित गर्दै देश कालो चश्मा, कालो कोट, कालो पाइन्ट लगाएर कालै गाडीमा हुइँकिनेहरूको मात्रै नभएको टिप्पणी गरेका छन् ।
आङदेम्बेले कुनै नागरिकको बसोबास कानुनी वा गैरकानुनी हुन सक्ने भए पनि जन्म कहिल्यै गैरकानुनी हुन नसक्ने बताए। उनले सुकुम्बासी समस्याको समाधान मानवीय र व्यवहारमुखी ढंगबाट गर्न सरकारसँग आग्रह गरे ।
उनले वर्षायामको मुखमा वैकल्पिक व्यवस्था नगरी हजारौं सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हटाइनु सरकारको मानवीय संवेदनशीलता शून्य भएको उदाहरण भएको बताए ।
‘एउटा परिवार हटाउनु अघि भोलिदेखि उनीहरू कहाँ बस्छन्, वृद्ध, अशक्त, गर्भवती महिला र साना बालबालिकाको अवस्था के हुन्छ भन्ने राज्यले सोच्नुपर्छ,‘उनले भने ।
आङदेम्बेले व्यवस्थापनको नाममा सुकुमबासी बस्तीबाट बलपूर्वक हटाएर अस्थायी आश्रयस्थलमा राख्ने र पछि त्यहाँबाट समेत रातारात हटाउने कार्य उचित नभएको बताए ।
उनले भने, ‘के यो देश कालो चश्मा, कालो कोट, कालो पाइन्ट लगाएर कालै गाडीमा हुइँकिनेहरूको मात्रै हो ? सुकुमबासी, अव्यवस्थित बसोबासी, गरिब किसान र मजदुरहरूको यो देश होइन ?’
उनले सरकारलाई सुकुम्बासी समस्या समाधान गर्दा शक्ति प्रदर्शन होइन, मानव मर्यादा र संवेदनशीलतालाई केन्द्रमा राख्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया