सांसदमा आर्यन राईको आक्रोश : प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन पाँच वर्षै भनिरहनुपर्ने हो ? 

लोकपथ
7
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले प्रधानमन्त्री बालेन्द्र साहले दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउँदै त्यसलाई सच्याउन प्रधानमन्त्री स्वयं संसदको रोस्ट्रममा आएर स्पष्ट पार्नुपर्ने माग गरेका हुन् ।

उनले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ५६ कार्यान्वयन हुने वा नहुने भन्ने प्रश्न उठाउँदै प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन कहिलेसम्म सदनमा आवाज उठाइरहनुपर्ने हो भन्दै प्रश्न गरे ।

राईले राष्ट्रियताको विषयमा आफ्नो पार्टी एक इन्च पनि पछि नहट्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘सभामुख महोदय, प्रतिनिधि सभा नियमावली २०८३ को नियम ५६ हामीले कार्यान्वयन गर्ने कि नगर्ने ? प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्तिका विषयमा हामीले कहिलेसम्म फरक मत राखिराख्नुपर्ने हो ? एक वर्ष, दुई वर्ष वा पाँच वर्ष रु राष्ट्रियताको सवालमा हामी एक इन्च पनि तलमाथि सर्दैनौँ । त्यसैले प्रधानमन्त्रीज्यूले सम्मानित सदनको रोस्ट्रममा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ ।’

बैठकमा राईले एमबिबिएस र बिडिएस अध्ययनरत विद्यार्थीहरूले भोगिरहेका समस्याको तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?